जनमाेर्चा एक्लै भए पनि प्रतिपक्षमा बस्छ : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको हो ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा रहने बताउनुभयो । उहाँले आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने भनेर लागेका छन्, यहाँभन्दा हाइसन्चो अरू के हुन्छ । सत्तापक्षमा बस्नेलाई यहाँभन्दा आनन्द के हुन्छ ? यो कुन किसिमको समर्थन हो । मैले बुझ्न सकिनँ । आफ्ना गल्ती पन्छाउन र एउटालाई सरकारबाट पन्छाएर आफू आउने खेल त होइन यो । यसो गरेर देश बन्छ ? सरकार चल्छ ? यस खालको दृश्य डरलाग्दो छ ।’

अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरूबाट सरकारमा नगइ, देशको प्राकृतिक स्राेत, साधनको दोहन नगरि चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको हुनसक्ने टिप्पणी गर्नुभयाे ।

Share your love