सरकार स्पष्ट योजनाका साथ आएको छ: नेत्री शर्मा

नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले वर्तमान सरकार देशको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताउनुभयो । ‘प्रधानमन्त्रीले जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, त्यो आजको आवश्यकता हो’, उहाँले भन्नुभयो ।

सत्ता साझेदार मात्र नभइ प्रतिपक्षी दलले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले सिङ्गो संसदबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सहमति र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । ‘प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिङ्गो संसद् उभिनेछ’, उहाँले भन्नुभयो, ‘देशका ज्वलन्त समस्या समाधान गर्न सम्पूर्ण दल एक ठाउँमा उभिएर सहमति र सहकार्यको अवस्था सिर्जना भएको नागरिकले आभास गर्न पाउने छन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई सुदृढ बनाउने विकल्पसहित आफूहरू राजनीतिमा आएको जनाउँदै उहाँले सरकार र संसद्लाई प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो । सामाजिक न्यायसहितको सुशासन प्रवर्द्धनमा वर्तमान सरकार लागिपरेको जनाउँदै उहाँले सरकारलाई विश्वासको मत दिएर नागरिकको अपेक्षा पूरा गराउन सहयोग गर्न आग्रह गर्नुभयो ।

Share your love