उकालो यात्रामा रहेको शेयर बजारमा २१ अङ्कको ‘ब्रेक’, ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार

पछिल्लो समय लगातार बढिरहेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३४ अङ्कले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको  छ । विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । आज दुई  सय ५४ वटा कम्पनीका दुई करोड आठ लाख ४३ हजार कित्ता शेयर सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २१ करोड र अपी पावर कम्पनीको २० करोड रुपैयाँभन्दा धेरेको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटलको शेयर साढे आठ प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बाराही हाइड्रोको शेयर १० प्रतिशतले, एचआईडीसीएलको साढे नौ प्रतिशतले र सिँगटी हाइड्रोको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

 

Share your love