कांग्रेसले विश्वासकाे मत दिएर जाल थापेकाे हाे भने त्यसमा माछा पर्नेवाला छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले कांग्रेसको याे निर्णयमा कुनै खालको जालझेल हुन सक्ने बताउनुभएको हो । उहाँले त्यो निर्णय कुनै जाल हो भने त्यसलाई सफल हुन नदिने चेतावनी दिनुभयो । यदि त्यो जाल हो भने माछा नभएको खोलामा जाल फ्याँकेजस्तै हुने अध्यक्ष ओलीको भनाइ थियो ।

नेपाली कांग्रेसले सदासयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले संसद् विघटन गरेर माघ १९ ल्याउने काम गरेकाले कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको हरेक निर्णयमा प्रतिगमन देख्ने गरेको कटाक्षसमेत गर्नुभयो । उहाँले चुनाव हुन्छ भने त्यस्तो खालको संसद् विघटन जायज हुने आफ्नो अडानसमेत दोहोर्‍याउनुभयाे ।

 

Share your love