जनकपुरलाई ६ रनले हराएर लुम्बिनी नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा

लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा जनकपुरले तीन रनमात्रै बनायो । जनकपुरका लागि समिउल्लाह शिनवारीले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए । बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । जनकपुरका जितेन्द्र मुखिया, सोमपाल कामी र अशान प्रियञ्जनले दुई/दुई विकेट लिए ।

आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ । जनकपुरले अब भाेलि साेमवार हुने काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ । इनिमिनेटरको विजेता फाइनलमा पुग्नेछ ।

 

Share your love