माओवादीसँग पार्टी एकताका लागि नेसपाले वार्ता समिति बनाउने

नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ ।

नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज आइतवारदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।

डा. भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सह–अध्यक्ष श्रेष्ठले बैठकले माओवादीसँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने बताउनुभयो । त्यो समितिलाई माओवादी केन्द्रलगायतका अन्य पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उहाँको भनाइ छ ।

अध्यक्ष भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका सात वर्ष एक सिंहावलोकन, सङ्घ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो ।

आउँदो कार्ययोजनाअन्तर्गत राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख छ । सह–अध्यक्ष श्रेष्ठले बैठक सोमवार (भोलि) सम्म चल्ने जानकारी दिनुभयो ।

 

Share your love