चुनाव अवधिभर जाँडरक्सी खान र बिक्री गर्न नपाइने

आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको चुनावलाई लक्षित गर्दै डाेटीमा जाँडरक्सी बिक्री गर्न तथा खान रोक लगाइएको छ ।

चुनावलाई स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा जाँडरक्सी ओसारपसारदेखि खान समेत पूर्णरुपमा निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो। हिजाे शुक्रवार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा जाँडरक्सी ओसारपसार, बिक्री वितरण र खान निषेध गरिएको छ ।

‘डोटी जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको निर्वाचन सुरक्षा समितिको बैठकको निर्णयअनुसार २०७९ कात्तिक १९ गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म जाँडरक्सीको ओसारपसार, बिक्री वितरण र खान पूर्णरुपमा निषेध गरिएको कोही कसैले सूचनाको बर्खिलाप गरी जाँडरक्सी ओसारपसार, बिक्री वितरण र खाएकाे पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ’, सूचनामा भनिएको छ ।

आउँदाे चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लावासी, सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने प्रजिअ श्रेष्ठको भनाइ छ ।

Share your love