वर्तमान संसदीय प्रणालीले देशलाई समृद्ध र विकसित बनाउन सकेन : अध्यक्ष यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले देशलाई समृद्ध र विकसित बनाउन नसकेको बताउनुभएको छ ।

आउँदो मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । शनिवार काठमाण्डौमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणाली र १० वटा प्रदेश हुनुपर्ने धारणा अघि सारेको छ ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थीरता दिन नसकेको र गणतन्त्रलाई बलियो बनाउन पनि असक्षम भएको बताउनु भयो । उहाँले तीव्र रुपले देशलाई आर्थिक क्रान्ति र समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणालीमा सरकार प्रमुख वा राष्ट्रप्रमुख कार्यकारिणी हुने व्यवस्था हुनु जरुरी रहेको बताउनुभयो ।

उहाँले समानुपातिक संसद रहने र संसदले संसदीय कार्य व्यवस्थापकीय कार्यमा सीमित रहने कुरा लागू हुन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष यादवले स्वतन्त्र र निष्पक्ष न्यायलय, राजनीतिक हस्तक्षेप र कार्यकर्ताको नियुक्ति राजनीतिक प्रभावबाट मुक्त, स्वतन्त्र र सक्षम न्यायालयको व्यवस्था गर्नको लागि वर्तमान संविधान संशोधन गर्नु अपरिहार्य रहेको पनि बताउनु भयो ।

अध्यक्ष यादवले देशको निर्वाचन प्रणालीलाई खिचडीको संज्ञा दिँदै निर्वाचन प्रणाली महंगो, विकृतिमुलक भएको पनि बताउनु भयो । उहाँले निर्वाचन प्रणालीलाई संशोधन गरेर समानुपातिक निर्वाचन प्रणालीतर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको निर्वाचन प्रणाली धेरै खर्चिलो भएको र यो प्रणाली निरन्तर रहने हो भने सामान्य नागरिकले चुनाव लड्न सक्ने अवस्था नरहने जिकिर गर्नुभयो । उहाँले न्यायालयको पुनः संरचना हुनुपर्ने बताउनुभयो । अध्यक्ष यादवले अहिलेको सात प्रदेशको संरचना अव्यवहारिक भएको उल्लेख गर्दै १० वटा प्रदेश हुनुपर्ने बताउनुभयो ।

Share your love