चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुनेछन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुने बताउनुभएकाे छ । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले चुनावमा एकता प्रर्दशन गर्नुपर्ने धारणा राख्नुभएकाे हाे ।

यस्तै उहाँले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन पनि अपिल गर्नु भएको छ ।  प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि देशमा राजनीतिक दूर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उहाँको भनाई थियो ।

चुनावलाई अग्रगमन रोज्ने कि प्रतिगमन रोज्ने जनमत संग्रहको रुपमा अर्थ्याउँदै उहाँले नेपाली नागरिकले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै देशमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर समेत गर्नुभयो । उहाँले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु परेको पनि पटकपटक दोहोर्‍याउनुभयो ।

Share your love