घन्टी बजाएर चुनाव प्रचार नगर्न तोसिमालाई आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ। आयोगको आचारसंहिता अनुगमन समितिले तोसिमालाई फोनमार्फत यस्तो निर्देशन दिएको हो।

तोसिमाको निर्वाचन क्षेत्र ललितपुर–३ का मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले तोसिमालाई आयोगको आचारसंहिता अनुगमन समितिले चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिए पनि तोसिमाले अटेर गरेको बताए।

पौडेलले देश सञ्चारसँग भने, ‘डा. तोसिमाले आयोगको निर्देशन अटेर गर्नुभएको छ, यसबारे हामी छिट्टै आयोगलाई लिखित रुपमा जानकारी गराउँछौँ।’

कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी हो। निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४, १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेको छ। त्यहाँ उम्मेदवारले आफ्नो चुनाव चिह्न बोकेर प्रचारप्रसारमा जान पाइँदैन।

उक्त आचारसंहिताको खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, कपडा, टोपी, टि–सर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुने’ उल्लेख छ।

यसै अनुसार निर्वाचन आचारसंहिता अनुगमन समितिले कार्कीलाई चुनाव चिह्न घन्टी बजाउँदै चुनावी प्रचारमा नहिँड्न भनेको हो।

आयोगले यसअघि कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी कायम गरिदिएको थियो।
कार्की नेपाल मेडिकल काउन्सिलकी सदस्य पनि हुन्। उनी लाभको पदमा रहेर उम्मेदवार बनेको भन्दै आयोगले उम्मेदवार हुन अयोग्य भनेको थियो।

आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेकी थिइन्। अन्तरिम आदेशमार्फत उनको उम्मेदवारी कायम भएको थियो। सर्वोच्चको आदेशविरूद्ध निर्वाचन आयोगले भ्याकेट निवेदनसमेत दिएको छ।

Share your love