गर्मीले जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप
विराटनगर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका कर्मचारी सञ्जय सोडारीले वैशाखकै पहिलो हप्तादेखि धेरै नै गर्मी भएको बताउनुभयो । चैत–वैशाख महिना भनेको वसन्त ऋतुको महिना हो । यो महिनालाई जाडो र गर्मीको सन्तुलन अर्थात अनुकुल वातावरण भएको महिना बताइन्छ । तर जलवायु परिवर्तनका कारण उत्पन्न बेमौसमी गर्मीले जनजीवन प्रभावित तुल्याएको हो ।
जलवायु परिवर्तनका कारण वर्षेनी गर्मी बढ्दै गएको वातावरणविद् रामचन्द्र अधिकारीले बताउनुभयो । सन् २०२३ सर्वाधिक गर्मी भएको वर्ष थियो र अब प्रत्येक वर्ष झन्–झन् गर्मी बढ्ने वातावरणविद्को भनाइ छ । साधारणतया प्रिमनसुनमा गर्मी बढी हुने भएपनि यस वर्ष वसन्त ऋतुमै गर्मी अत्याधिक बढेको बताउनुभयो । जलवायु परिवर्तनको प्रभावका कारण गर्मी अत्याधिक बढेको बताउनुभयो ।
कोशी प्रदेशको राजधानी विराटनगरका अस्पतालमा यति बेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको भने संख्या ह्वात्तै बढेको छ । उखरमाउलो गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, वान्ता हुने लगायतका असर देखिने गर्छ । तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
गर्मीका कारण हुनसक्ने स्वास्थ्य समस्याबाट बच्नका लागि शतर्कता अपनाउनु पर्ने नोबेल मेडिकल कलेजका वरिष्ठ फिजिसियन सुरेन्द्र साहले बताउनुभयो । गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएरमात्र घरबाहिर निस्किन सुझाव दिनुभयो । १० वर्ष भन्दा कम र ६० वर्ष माथिका मानिसहरुमा बढी प्रभाव पर्ने बताउनुभयो । विगतमा केही ढिलागरी शुरु हुने गर्मी यस पटक छिटो गरेर शुरु भएको बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागले तापमान अबका केही दिनसम्म चल्ने अनुमान गरेको छ ।