कोशीमा मुख्यमन्त्रीको छोराको व्रतबन्धले सर्याे संकल्प प्रस्तावमाथिको छलफल
कोशी प्रदेशसभाको बैठकमा आज नेकपा एमाले र माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव पेस हुँदैछ । आजको बैठकमा प्रस्ताव पेस भए पनि छलफल भने भोलिबाट सुरु गर्ने तयारी छ । मुख्यमन्त्री केदार कार्कीका २ छोरा साकेत र शाब्दिकको व्रतबन्ध आज भएका कारण प्रतिपक्षी दल संकल्प प्रस्तावमाथि छलफल एक दिन सार्न तयार भएका हुन् ।
भण्डारीले बिहीबारको छलफललाई शुक्रबार सारिएको र शुक्रबार नै संकल्प प्रस्ताव पास गर्ने तयारी रहेको जानकारी दिए । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले पनि आजको बैठकमा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको बताए । उनका अनुसार छलफल भने भोलिबाट सुरु हुनेछ ।
२७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए । समर्थन फिर्ता लिँदै उनीहरुले प्रदेशसभाको अधिवेशन माग गरेका थिए ।
समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्की राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा छन् । उनलाई राजीनामा नदिने भए विश्वासको मत लिन निर्देशन दिनका लागि दुई दलले संकल्प प्रस्ताव दर्ता गरेका थिए । सोमबार दर्ता भएको संकल्प प्रस्तावको भाषामा मुख्यमन्त्री कार्कीले असहमति जनाएपछि बुधबार २ दलले संकल्प प्रस्तावको भाषालाई परिमार्जन गरेका थिए ।