कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । नेता शेखर कोइराला नेतृत्वको समूहले महामन्त्री थापालाई उम्मेदवार बनाएसँगै आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार रहेका देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।

कोइराला पक्षको बैठकपछि उपसभापति धनराज गुरुङले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको बताउनुभयो । त्यही बैठकमा पुग्नुभएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई ध्यान दिएर थापालाई संसदीय दलको नेता बनाउन आह्वान गर्नुभयो । उहाँले देउवा पनि आफू उम्मेदवार नभइ शेखर कोइरालाले झैँ वैकल्पिक नेतृत्वको नाम प्रस्ताव गर्नुपर्ने बताउनुभयो ।

पाँच पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनावमा प्रतिस्पर्धामा हुनुहुन्छ । महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार बन्ने अभ्यास छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ जना र समानुपातिकतर्फ ३२ जना गरी ८९ सांसद रहेका छन् । संसदीय दलको विधानअनुसार निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । देउवा पक्षले ८९ जनामध्ये ५४ जना सांसद आफ्नाे पक्षमा खुलिसकेका दाबी गरेको छ । तर कोइराला पक्षका नेताहरू भने आफूहरूको पक्षमा ४० जनाभन्दा धेरै सांसद रहेको र उम्मेदवारी दर्ता भइसकेपछि अझै बढ्ने दाबी गर्छन् । नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले कसलाई सघाउने भन्ने यकिन गरिसक्नुभएको छैन ।

कांग्रेसले यसअघि नै गठन गरेको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकअनुसार आज उम्मेदवारी दर्ता, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने र नाम फिर्ता गर्ने समय तोकिएको छ । आज नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । कांग्रेस संसदीय दलको नेताको चुनाव भने भोलि बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

 

Share your love