अर्जेन्टिनाकाे टिम स्वदेश पुग्याे

फिफा विश्व कप फुटबल २०२२ को उपाधि जितेको अर्जेन्टिनाको टिम स्वदेश पुगेको छ । टोलीलाई अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको विमानस्थलमा रातो कार्पेट बिछ्याएर हजारौँ व्यक्तिले स्वागत गरेका छन् । खेलाडीलाई रक ब्यान्ड ला मोस्काले मुचाचोस गाएर स्वागत गरेको समाचार संस्था एपीले जनाएको छ ।

गएकाे आइतवार राति कतारको लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्व कप जितेको हो । अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षका लियोनल मेसीले भने करिअरको पहिलो विश्व कप उपाधि जितेका छन् ।

टोलीले आज ब्युनर्स आयर्समा रहेको ओबिलिस्कमा विश्व कप जितेको खुसीमा विजय उत्सव मनाउनेछ । ओबिलिस्क खेलकुद उत्सवको परम्परागत केन्द्रविन्दु हो । खुसीयाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा दिइएको छ ।

Share your love