देउवाले संसदीय दलकाे नेतामा अरू कसैलाई प्रस्ताव गरेकाे हेर्न चाहन्छु : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रूपमा आफूले हेर्न चाहेको बताउनुभएको छ ।

आज मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज (मङ्गलवार) हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रस्तावकको रूपमा देख्ने चाहेको बताउनुभएको हो । उहाँले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा काम गरे पनि पटक–पटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामको चर्चा हुन नसकेको बताउनुभयो । देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगको स्थापना हुन सम्भव रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब शेरबहादुर देउवाले म पाँच पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक दिन्छु भन्न सक्नुपर्छ । उहाँको सम्मानजनक बहिर्गमन हुनेछ । यदि उहाँले जनजातिबाट प्रकाशमान सिंह, प्रतिस्पर्धी डा. शेखर कोइराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधि, वीपीको छोरालाई दिन्छु भनेर डा. शशांक कोइराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सार्नुभयो भने उहाँले गरेर पनि छोपिएको राम्रा काम माथि आउनेछन् । हामीले त्याग गर्न सकेका छौँ भने पाँच पटक प्रधानमन्त्री भइसकेको मान्छे अब साथीहरूलाई छोडिदिन्छु भनेर कुनै हिच्किचाहट छोड्नुहुन्छ भन्ने मलाई लाग्छ ।’

महामन्त्री शर्माले अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको बताउनुभयो । उहाँले देशको अभिभावक बन्न कोही नलागेको आरोपसमेत लगाउनुभयो । उहाँले संसदीय दलको नेताको रूपमा आफूले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रस्तावित गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

फरक प्रसङ्गमा महामन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) ले अहिले सत्ताको आकाङ्क्षामा अर्को गठबन्धनको खोजी गर्ने काम गरिरहेको भन्दै नागरिकको मर्मविरुद्ध जान नहुने बताउनुभयो । उहाँले गठबन्धनले विभिन्न आलोचनालाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकाङ्क्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने बताउनुभयो ।

महामन्त्री शर्माले विगतको भन्दा फरक ढङ्गबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलप्रतिको भरोसा सकिने बताउनुभयो । श्रम्ािकको बीमा अभियानका नाममा राष्ट्रव्यापी बीमा अभियान चलाउन जरुरी रहेको उहाँको भनाइ छ ।

 

Share your love