इमरान खानविरुद्ध सुनाइएको जेल सजायमा रोक

काठमाडौँ — इस्लामाबाद उच्च अदालतले  पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानविरुद्ध सुनाइएको सजायमाथि रोक लगाएको छ । तोशाखाना भ्रष्टाचार मुद्दामा इस्लामाबाद उच्च अदालतले खानमाथि लगाइएको सजायमा रोक लगाएको हो । साथै अदालतले खानलाई धरौटीमा छाड्न आदेश दिएको डन न्युजले जनाएको छ ।

सोमबार इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश अमिर फारूक र न्यायाधीश मेहमूद जहाँगिरीको इजलासले खानको पुनरावेदनमा सुनुवाइ गर्दै ट्रायल कोर्टको फैसला उल्ट्याएको हो । डन न्युजसँग कुरा गर्दै मुख्य न्यायाधीश फारूकले भनेका छन्, ‘फैसलाको प्रतिलिपि छिट्टै उपलब्ध हुनेछ । अहिलेलाई इमरान खानको आग्रह स्वीकार गरिएको छ भन्न चाहन्छौँ ।’

पीटीआई प्रमुख खानका कानुनी सहयोगी नइम हैदर पन्जोथाले समेत आफूहरूको आग्रह अदालतबाट स्वीकार गरिएको बताएका छन् । खानलाई गत अगस्ट ५ मा तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै इस्लामाबाद ट्रायल कोर्टले ३ वर्ष जेल सजाय सुनाएको थियो। अदालतको उक्त आदेशसँगै खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो ।

अदालतले सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ (पाकिस्तानी रुपैयाँ) जरिवाना हुने फैसला सुनाएको थियो । यो सजायसँगै इमरान खान पाँच वर्ष चुनाव लड्न अयोग्य हुने बताइएको थियो ।

Share your love