आर्थिक नीति र कुटनीति नजान्नेलाई सरकारले राजदूत बनाएर पठाउँछ : परराष्ट्रविद् आचार्य

परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कुटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ । आर्थिक कुटनीतिमा देश पछि परिरहँदा पूर्व परराष्ट्रसचिवसमेत रहनुभएका उहाँले देशको आर्थिक कुटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज शुक्रवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै परराष्ट्रविद् आचार्यले आर्थिक नीति र कुटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण देशको आर्थिक कुटनीतिक फलदायी हुन नसकेको पनि स्पष्ट पार्नुभयो । उहाँले आर्थिक कुटनीति कार्यान्वयनका लागि नीतिगतरूपमा स्पष्ट धारणा तय गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

देशमा लगानी भित्र्याउनका लागि लगानी बोर्डले कामै गर्न नसकेको समेत परराष्ट्रविद् आचार्यको भनाइ थियो । उहाँले देशको आर्थिक विकासका लागि भारत र चीन दुवै देशबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो ।

परराष्ट्रविद् आचार्यले आर्थिक कुटनीतिका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गराउन पनि आवश्यक रहेको बताउनुभयो । बैठकका विमला राई पौडेललगायतका सांसदले आर्थिक कुटनीतिलाई अघि बढाउन अन्तर्राष्ट्रिय अनुभवबारे परराष्ट्रविद् आचार्यसँग जिज्ञासा राख्नुभएको थियो ।

 

Share your love