तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम, ‘नागरिकले परिवर्तनको आभास गर्छन्’– मुकुल ढकाल

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ । आज शुक्रवार अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताउनुभयो । उहाँले भोलि शनिवार शीर्ष नेताहरूको संयन्त्रमा सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने बताउनुभयो । उहाँले न्यूनतम साझा कार्यक्रम नागरिकको डेलिभरीको पक्षमा रहेको र परिवर्तनको आभास हुने गरी आएको दाबी गर्नुभयो । नागरिकलाई यो सरकार केही दिने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राम्रो न्यूनतम साझा कार्यक्रम बनेको छ । नागरिकको ‘डेलिभरी’ को पक्षमा परिवर्तनको आभास हुने गरी कुराहरू समेटिएका छन् । नागरिकलाई परिवर्तनको आभास दिलाउने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम आउने छन् ।’

गएको पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्शेर राणा र जनता समाजवादी पार्टी नेपालबाट रकम चेम्जोङ हुनुहुन्छ ।

 

Share your love