अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत् राष्ट्रिय विमर्श गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रकाे वर्तमान सङ्कट समाधानका लागि वृहत् राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारसँग यस्तो प्रस्ताव राख्नुभएको हो । उहाँले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको सङ्कटमोचनको ‘रोडम्याप’ बनाउनुपर्ने बताउनुभयो । उहाँले देशको अर्थतन्त्र सङ्कटको डिलमा रहेको भन्दै सबै सरोकारहरूले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने बताउनुभयो ।

ढकालले नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने बताउनुभयो ।

अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहान गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष ढकालकाे भनाइ छ ।

 

Share your love