१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

कीर्तिमानसहित उनले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज बिहान १० हजार मिटर दूरी उनले ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १० दशमलव ९९ सेकेण्डमा १० हजार दूरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए ।

त्यही स्पर्धामा गोपीचन्द्र पार्कीले रजत पदकमा चित्त बुझाए । उनले निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेण्डमा पूरा गरे । तेस्रो आर्मीकै गजेन्द्र राई भए । उनले निर्धारित दूरी ३० मिनेट ४९ दशमलव ५० सेकेण्डमा पूरा गरे ।

१० हजार मिटरको महिला प्रतिस्पर्धा हिजाे भएको थियो । यसमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितिन् ।

 

Share your love