हिजो कांग्रेस र हामी दुई ध्रुवमा थियौँ, अहिले मिल्नुपर्ने अवस्था छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल भएको बताउनुभएकाे छ ।

गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताउनुभयाे । कुनै बेला दुई प्रमुख शक्तिबीच आमने सामने लडाईं भएको स्मरण गर्दै उहाँले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क गर्नुभयाे ।

‘हिजो माओवादी र कांग्रेस दुई ध्रुवजस्तो भएर लड्यौँ । त्यतिबेला प्रतिस्पर्धा थियो, अहिले मिल्नुपर्ने अवस्था छ । अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौं ।’

पुनले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ताका लागि अपिल गर्नुभयाे । सत्ता गठबन्धनद्वारा सिट बाँडफाँटका लागि गठित कार्यदल सदस्यसमेत रहनुभएका पुनले देशभर करिब दुई सय स्थानमा बागी उम्मेदवारी दर्ता भएकामा अब त्यो संख्या ८/१० जनामा झरेको बताउनुभयाे ।

पुन सत्ता गठबन्धनका तर्फबाट एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पाबाट उम्मेदवार हुनुहुन्छ । उहाँ २०७४ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित हुनुभएकाे थियाे ।

 

Share your love