हिउँदे वर्षा भएन, खाद्यान्नको जोहो गर्न सरकारलाई आग्रह

जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरूले सरकारले खाद्य सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरूको भनाइ छ । देशका धेरैजसो ठाउँमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्या उत्पन्न हुनसक्नेप्रति सरकारलाई सचेत गराएका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नको सुरक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

हिउँदे अवधिमा आवश्यक वर्षा नहुँदा आउँदा दिनमा जलवायुजन्य विपद्को जोखिमसमेत बढेर जाने भएकाले सरकारले समयमा नै विपद् पूर्वसूचना र विपद् पूर्वतयारी गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले हिउँदे वर्षा नहुँदा वायु प्रदूषण बढ्नुका साथै भोकमरीको अवस्था सिर्जना हुनसक्ने खतरा रहेको बताउनुभयो ।

Share your love