अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ ध्यान केन्द्रित हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अब सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरेअनुसार स्वतन्त्र ढङ्गले राज्यका अगङ्हरूले आफूलाई परिचालित गर्नुपर्छ ।’

उहाँले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताउनुभएको छ । औपचारिक अर्थतन्त्रलाई प्रवर्धन गर्न र संस्थागत गर्न वृत्त नीति निर्देशित हुनुपर्ने देखिएको उहाँले बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत अभिवादन गर्नुभएको थियो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधनको प्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभएको थियो । सम्बोधन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरू उपस्थित हुनुहुन्छ ।

नेपालको संविधानमा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन अहिले चलिरहेकाे छ ।

राष्ट्रपतिको सम्बोधनको प्रति प्रधानमन्त्रीले आजै बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नुहुनेछ । दुवै सदनले राष्ट्रपतिको सम्मानमा धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

 

Share your love