‘स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चिएकाे छ, कारबाही गर्नुपर्दा भूकम्प पाे आउने हाे कि ?’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध कारबाही शुरु भएपछि राजनीतिक वृत्तमा भूकम्प आउने चेतावनी दिनुभएको छ ।

विराटनगरमा प्रदेश १ स्तरीय मिडिया अभिमुखीकरणको उद्घाटन कार्यक्रममा आज शुक्रवार उहाँले आचारसंहिताको पालना किन भएन भनेर स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याएको भन्दै हप्ता/दश दिनपछिको आयोगको निर्णयले भूकम्प आउने चेतावनी दिनुभएको हो ।

राजनीतिक दलका नेताहरू आफैँले पालना गर्छु भनेर दस्तखत गरेको निर्वाचन आचारसंहिताको पालना नगर्नेहरू कारबाहीको भागिदार हुने उहाँले बताउनुभयो । स्पष्टीकरण सोध्नु भनेको कारबाही नभइ यसको सुरुवात भएको भन्दै उहाँले आचारसंहिता उल्लङ्घन गर्नेहरु कारबाहीका लागि पनि तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्पष्टीकरण साेध्दा तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि ?, चुनावलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनावमा अनुभूत गरेका समस्या नदोहोरिने गरी आयोगले आउँदो चुनावको तयारी गरिएको बताउनुभयो । चुनावलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको उहाँले बताउनुभयो ।

 

Share your love