सेल्फी खिच्दा खसेकाे माेबाइल खाेज्न कर्मचारीले ‘ड्याम’बाट निकाले २० लाख लिटर पानी

भारतमा एक जना सरकारी कर्मचारीले सिँचाइकाे लागि निर्मित बाँध ‘ड्याम’मा खसेको आफ्नो मोबाइल खोज्नको लागि पूरै बाँध खाली गर्न लगाएपछि कारबाहीमा परेका छन् ।

सेल्फी खिच्ने क्रममा खाद्य अधिकारी राजेश विश्वासको हातबाट उनको एक लाख भारतीय रुपैयाँ बराबरको सामसुङको मोबाइल बाँधमा खसेको थियो । भारतको छत्तिसगढको कंकर जिल्लामा  निर्मित खेरखट्टा ड्याममा गएकाे आइतबार मोबाइल खसेको हो । उनले त्यो मोबाइलमा महत्वपूर्ण सरकारी डाटा रहेको भन्दै बाँधबाट बीस लाख लिटर पानी निकालेका थिए । मोटरको सहायता लिएर पनि यति पानी खाली गर्न तीन दिन लागेको थियो । मोबाइल भेटिएता पनि त्यसमा पानी पसेर चल्न सकेको छैन ।

यसरी मोबाइल निकाल्न ड्यामको पानी निकालेपछि उनको तीव्र आलोचना भइरहेको छ । उनले खाली गरेको पानीले ६ सय हेक्टर जमिन सिँचाइ गर्न सकिने अधिकारीहरुले बताएका छन् । कंकर जिल्लाका अधिकारी प्रियंका शुक्लाले यसरी पानीको नोक्शान गर्नु गलत काम भएको भन्दै छानबिन नभएसम्म राजेशलाई जागिरबाट निलम्बन गरिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

Share your love