श्रम विभाग कमजोर बन्यो : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताउनुभएको छ । उहाँले वैदेशिक श्रमसम्बन्धी सबै काम पहिला श्रम विभागले गर्ने भएपनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताउनुभयो ।

श्रम क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको भन्दै मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताउनुभयो ।

मन्त्री भण्डारीले श्रमको क्षेत्रलाई सुव्यवस्थित रुपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमिकहरुको लागि राम्रो अवसर हुने बताउनुभयो । उहाँले श्रमको विश्वव्यापीकरणको फाइदा लिनसके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने बताउनुभयो ।

मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको छ र १० दिनभित्रमा ऐन परिमार्जनको ड्राफ्ट बनाउने बताउनुभयो ।

Share your love