सेनाको स्वास्थ्य शिविरले सखुवा प्रसौनीका बासिन्दा लाभान्वित

नेपाली सेनाको वीरगन्जस्थित श्री जंग गणको टोलीले सखुवा प्रसौनी गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जहाँ हाडजोर्नी, आँखा, नाक कान घाँटी, स्त्री तथा प्रसूति रोग र दाँत सम्बन्धी समस्या भएका १ हजार ५ सयभन्दा धेरै स्थानीय लाभान्वित भएका थिए ।

यस क्रममा सेनाको स्वास्थ्य टोलीले सामान्य स्वास्थ्य परीक्षण पनि गरेको थियो । शिविरमा छिमेकी पटेर्वासुगौली गाउँपालिकाका बिरामी पनि स्वास्थ्य परीक्षण गराउन आएका थिए ।

सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले ग्रामीण भेगका जनतालाई लक्षित गरी नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविर प्रसंशनीय भएको बताए । ‘यहाँ विपन्न तथा दलित समुदायका अधिकांश मानिसले आर्थिक अभावका कारण स्वास्थ्य परीक्षण गराएका थिएनन् । सदरमुकाम वीरगन्ज जान पनि उनीहरू असमर्थ थिए । नेपाली सेनाले आयोजना गरेको शिविरले उनीहरुले गाउँघरमै निःशुल्क उपचार पाए,’ अध्यक्ष यादवले बताए ।

श्री जंग गणका गणपति कर्नेल डायमण्ड कार्कीले नेपाली सेनाले आफ्नो उपस्थिति भएका सबै जिल्लामा वर्षेनि यस्ता स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताए । ‘जनतासँग हातेमालो गर्दै नेपाली सेनाले वर्षेनि यस्तो शिविर आयोजना गर्दै आएको छ,’ उनले भने, ‘स्थानीयको राम्रो सहभागिता र समर्थन रहेकाले सेनाले यो कार्यलाई निरन्तरता दिनेछ ।’

पूर्वी पृतना हेड क्वार्टर बर्दिबासका उपरथी प्रेमध्वज अधिकारीले स्थानीयको आवश्यकतालाई मध्यनजर गरी जिल्लाको ग्रामीण भेगलाई लक्षित गर्दै स्वास्थ्य शिविर आयोजन गरिएको बताए । ‘आर्थिक समस्या भएका तथा अस्पतालसम्म पहुँच नभएकाहरु यो शिविरबाट लाभान्वित भएका छन् । यस्तो कार्यक्रमले निरन्तरता पाउनेछ,’ उपरथी अधिकारीले बताए ।

सखुवाप्रसौनी –४ देउरवानाकी ८४ वर्षीया देवकली देवी लामो समयदेखि दुबै खुट्टाको हड्डी दुख्ने समस्यासँग जुधिरहेकी थिइन् । शारीरिक अशक्तताको कारण उनी सदरमुकाम वीरगन्जसम्म उपचार गराउन जान सकिरहेकी थिइनन् ।

शनिबार गाउँमै नेपाली सेनाको स्वास्थ्य शिविरमा उपचार गराउन पाएपछि भने पीडा कम भएको उनी बताउँछिन् । यस्तै सखुवाप्रसौनी–२ की ६५ वर्षीया चन्दा देवी ढाड दुख्ने समस्याबाट पीडित थिइन् । घरायसी कार्यव्यस्तताले उपचार गराउन सदरमुकाम वीरगन्ज जान पाइरहेकी थिइनन् ।

तर सेनाको उक्त शिविरबाट उनले एक साताको लागि नि:शुल्क औषधि पाइन् भने उचित उपचार पनि पाइन् । यसले आफूजस्ता थुप्रै वृद्धवृद्धाहरू लाभान्वित भएको उनको भनाइ थियो ।

Share your love