बलियो भियतनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन

पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । शनिबार भएको दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएको नेपाल समग्रमा ७–१ को नजितासँगै ओलम्पिक छनोटबाट बाहिरिएको हो ।

बुधबार भएको पहिलो खेलमा ५–१ मा हार व्यहोरेको नेपालले दोश्रो खेलमा भने सुधारिएको प्रदर्शन गर्‍यो । दोस्रो हाफमा नेपालले विश्वकपका लागि छनोट भइसकेको भियतनामलाई दबावमा राख्न सफल भएको थियो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भियतनामले सुरुको ७ मिनेटभित्र २ गोल गरेको थियो ।

खेलको छैटौं मिनेटमा भियतनामले पाएको पहिलो कर्नरमा पोष्टमा अलमल हुँदा पाम हाइ यानले गरेको फितलो प्रहार गोल भयो । यसको एक मिनेट बित्दै खेलको सातौं मिनेटमा तान थि थु था ओले गरेको पासमा पुन यानले नै गोल गरिन् ।

‘सहजै क्लियर गर्नुपर्ने बल हिरा (भुजेल)ले बिगारेर कर्नर भयो । भियनामले सेकेण्ड बारमा हान्छ भनेर राख्दा राख्दै पनि डिसिप्लिनको कमी भएको जस्तो देखियो’, प्रशिक्षक अनन्त थापा भन्छन्, ‘दोस्रो गोल पनि त्यस्तै भयो ।’

गोलरक्षक एन्जिला तुम्बाप्पेले पनि डिफेन्ससँग कम्बिनेसन नमिलेको बताइन् । लगातार दुई गोल खाएपछि नेपाली टोली केही दबावमा आए पनि पहिलो हाफमा थप गोल खाएन ।

३९ औं मिनेटमा सावित्रा भण्डारीले गरेको सटअन टार्गेट पनि भियतनामी किपरले उत्कृष्ट बचाउ गरिन् ।

दोस्रो हाफमा गोलरक्षक नै परिर्वतन भयो । कप्तान समेत रहेकी गोलरक्षक एन्जिलाको स्थानमा अन्जना राना मगर मैदान प्रवेश गरिन् भने नेपालको खेलमा पनि निकै सुधार भयो । ‘सेकेण्ड हाफ फूल डिमिनेन्ट नै गर्‍यौं’, खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक थापा भन्छन्, ‘आजको खेलमा हामीले अवसर सृजना गर्‍यौं ।’

खेलको ६६औं मिनेटमा पेनाल्टी बक्समा विमला चौधरीले दिएको पासमा दिपा शाहीको प्रहार पहिलो बारमा लाग्दै बाहिरिएको थियो ।

नेपाली टोलीको प्रदर्शन अघिल्लो खेलमा भन्दा सुधारिएको भन्दै थापाले खुसी व्यक्त गरे ।

पहिलो खेलमा भियतनामको टिमबारे धेरै अध्ययन गर्न नपाएकाले गाह्रो भएको भन्दै उनले भने, ‘आजको खेल इम्पुभमेन्ट हो जस्तो लाग्छ ।’ नेपालले पनि आगामी दिनमा विश्वकप खेल्न सक्छ भन्ने आश जगाएको भन्दै उनले यसका लागि अन्तराष्ट्रिय एक्पोजर चाहिने बताए । थापाले अघि भने, ‘वर्षमा १०/१५ वटा फ्रेन्ड्ली चाहिन्छ ।’

भियतनामका प्रशिक्षक माइ डक चुङले पनि नेपाली टिमको प्रशंसा गरे । उनले पहिलो खेल आफूहरुका लागि सहज भए पनि आजको खेलमा नेपालले आच्छु आच्छु पारेको उनले बताए । भने, ‘नेपालले आजको खेल निक्कै राम्रो खेल्यो, पहिलो खेलमा भएका कमजोरी सुधार गरेको देखेँ ।’

Share your love