सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन आफ्ना सांसदलाई प्रचण्डको निर्देशन

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन  दिनु भएको छ ।

सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएका उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न पनि उहाँले भन्नुभएको छ ।

हिजो  बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि माओवादीले मत दिएमा मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत पुग्ने देखिन्छ । आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गएको माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टीले पनि लिखित सहमति विनाविश्वासको मत नदिने अडान लिएको छ ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । अहिले कांग्रेसका १९ जना सांसद छन् । उहाँलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीका चार सांसद छन् । प्रदेश सभामा माओवादीका सभामुखसहित ११ जना र नागरिक उन्मुक्तिको सात जना सांसद छन् ।

 

Share your love