सीमा क्षेत्रमा फैलिँदै नक्कली नोटको जालो

सर्लाही — सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बरहथवा नगरपालिका–१७ कटानीबाट प्रहरीले १ हजार नोटको २ लाख ६८ हजार नक्कली नोटसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट नक्कली नोटसहित नोट बनाउने कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

अन्य केही व्यक्ति फरार भएकाले पक्राउ परेकाको बारेमा खुलाउन नसकिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ ।

यससँगै सर्लाहीमा नक्कली नोटको जालो फैलिँदै गएको प्रहरीले जनाएको छ । विगत तीन महिनायता नक्कली नोटसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । यसअघि तीन महिनाको अवधिमा प्रहरीले १ हजार दरका ६८ हजार नक्कली रुपैयाँसहित ९ जनालाई नियन्त्रणमा लिई काराबाही गरेको थियो । जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने तीन जना १–१ लाख रुपैयाँ धरौटीमा रिहा भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले तीन महिनायता ३ लाख ३६ हजार नक्कली रुपैयाँसहित २ सय ३७ बण्डल नोट आकारको कागज र कागज काट्ने मेसिन बरामद भएको बताए । प्रहरी उपरीक्षक सुवेदीका अनुसार नक्कली रुपैयाँको संगठित रुपमा कारोबार भइरहेको छ ।

‘तीन महिनायता मात्र नक्कली नोट सहित दस जना पक्राउ परेका छन्, यसले संगठित रुपमा यसको कारोबार भइरहेको हो भन्ने बुझिन्छ,’ उनले भने, ‘यसमा खुला सीमाले पनि उनीहरुलाई कारोबार गर्न हौस्याएको पाइएको छ, नक्कली नोटको कारोबारको जालो भत्काउन प्रहरी लागिपरेको छ ।’

Share your love