सीटीईभीटीका कर्मचारी चढेकाे जीप सुनकाेसीमा खस्दा तीन जना बेपत्ता

मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनमा जीप सुनकाेसी नदीमा खसेकाे छ । आज शुक्रवार सुनकाेसीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी चढेकाे बा १ झ ७४६७ नम्बरको जीप काठमाण्डाैबाट खोटाङ जाँदै गर्दा नदीमा खसेको हो ।

जीपमा चार जना रहेकामा चालक दाङकाे राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चाैधरी पाैडी खेलेर नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था थाहा नभएकाे उहाँले बताउनुभयो । सामान्य घाइते चालककाे शुभ जीवन अस्पताल खुर्काेटमा उपचार भइरहेकाे छ ।

बेपत्ता हुनेहरूमा सीटीईभीटीकाे प्रशासन शाखाका निर्देशक (सहसचिव) तनहुँकाे भानु नगरपालिका–९ का ५७ वर्षीय कृष्णबहादुर केसी, कार्यालयकाे याेजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद घुर्तेल र कार्यालयका विद्युत् प्रशिक्षक इलामका भानु पौडेल रहेका छन् ।

बेपत्ताहरूको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको डीएसपी दाहालले जानकारी दिनुभयो ।

 

Share your love