भारतीय दूतावास अगाडि राप्रपा निकट विद्यार्थीहरुको प्रर्दशन
राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ। भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रर्दशन गरेको हो।
विरोध प्रर्दशनमा उत्रिएकाहरुले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए। उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
विरोध प्रर्दशनीमा ‘भारतीय विस्तारवाद-मर्दावाद’, ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरिएको थियो।