सिर्सिया नदीलाई प्रदुषण बनाउनको लागी औद्योगिक करिडरका उद्योगहरू तयार

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि ७ दिनभित्र पानी प्रशोधन केन्द्र स्थापना गर्न वीरगंज पथलैया औद्योगिक करिडरका उद्योगहरू तयार भएका छन् । वीरगंज उद्योग वाणिज्य सङ्घको पहलमा बसेको उद्योगीहरूको बैठकले अबको सात दिनभित्र उद्योगहरू अनिवार्य प्रशोधन केन्द्र स्थापना गर्न तयार भएका हुन् ।

वीरगंज महानगरपालिकाले नदी प्रदूषणको मुख्य कारक उद्योगहरू रहेको निष्कर्ष निकाल्दै उद्योगबाट निस्कने फोहोर पानी नियन्त्रण गर्न ताकेता गरेपछि उद्योग वाणिज्य सङ्घले उद्योगीहरूलाई तत्काल प्रशोधन केन्द्र बनाउन लगाउने निर्णय गरेको हो ।

गएको शुक्रवार उद्योग वाणिज्य सङ्घको सभाहलमा बसेको यस क्षेत्रका उद्योगीहरूको भेलाले उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा विसर्जन गर्ने, प्लान्ट नभएका उद्योगले सात दिनभित्र प्लान्ट निर्माण गर्ने र दैनिक १६ घण्टा बोरिङ चलाएर स्वच्छ पानी नदीमा विसर्जन गर्ने निर्णय गरेको छ ।

सिर्सिया नदी प्रदूषण नियन्त्रण गर्ने जिम्मेवारी आफ्नो पनि रहेकोले अब हरेक उद्योगले फोहोर पानी सोझै नदीमा फाल्न बन्द गर्न प्रशोधन केन्द्र बनाउन लगाउने निर्णय गरेको उद्योग वाणिज्य सङ्घ वीरगंजका अध्यक्ष सुबोधकुमार गुप्ताले बताउनुभयो ।

बारा पर्साका उद्योगीहरूको सहभागिता रहेको बैठकमा उद्योगीहरूकै सहमतिमा यस्तो निर्णय भएको पनि उहाले जानकारी दिनुभयो । बैठकमा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, शिवशक्ति प्याकेजिङ, भास्कर हर्बल, एभरेस्ट लेदर, नेपाल लेदरसहित यस क्षेत्रबाट सञ्चालित उद्योगका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

वीरगंज महानगरपालिकाको अगुवाइमा सिर्सिया नदी प्रदूषण नियन्त्रण समिति गठन भएर अहिले नदीको स्थलगत अनुगमनको काम अघि बढिरहेको छ । नदी प्रदूषण नियन्त्रणका लागि वीरगंज महानगरपालिकाको नेतृत्वमा गठित समितिमा जितपुरसिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, उद्योग वाणिज्य सङ्घ, स्थानीय प्रशासनका पदाधिकारी सदस्य रहेका छन् ।

Share your love