बारामा एकै दिन ३३२ जना फरार प्रतिवादी पक्राउ

जसमध्ये ३६ जनालाई कैद भुक्तानका लागि वीरगञ्ज कारागार चलान गरिएको छ भने बाँकीले विगो, जरिवाना भुक्तानी गरेर घर फर्किएको प्रहरीले जनाएको छ ।  विगो, जरिवाना तथा कैद असुलउपर गर्न बाँकी रहेका कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध लगायत जघन्य तथा बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्ध विच्छेद, कुटपिटलगायत मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बैंकिङ कसुर ठगी मुद्धामा ६ वर्ष ५ महिना १० दिन सजाय पाएका कलैया १ बस्ने विजय दास, हातहतियार तथा खरखजना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय पाएका निजगढका बन्सु चौधरी, बैङ्किङ कसुर मुद्दामा ७ लाख जरिवाना फैसला पछि फरार सिम्रौनगढका तेजाजुल अन्सारी लगायत पक्राउ परेका हुन् ।

अदालतबाट कैद तथा जरिवाना तोकिएको व्यक्ति समाजमा रहँदा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम घुँमिरहँदा समाजमा नराम्रो सन्देश जाने, अपराधीहरुको मनोबल बढेर थप अपराध गर्न प्रोत्साहित हुने हुँदा फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन अभियान सञ्चालन गरिएको प्रहरी अधिकृतहरुको तर्क छ ।

अपराध गरेर गाउँ समाजमा खुला रुपमा हिँडडुल गरिरहेका प्रतिवादीहरुलाई विशेष अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाले फरार प्रतिवादीहरुलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुको साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताउनुभयो । फरार प्रतिवादी पक्राउ गर्नका लागि बारामा रहेका ५१ वटै युनिटबाट प्रहरी परिचालन गरिएको थियो । फैसला कार्यान्वयनमा सघाउन आग्रह गर्दै बारा जिल्ला अदालतले १ हजार ३ सय ५७ जना फरार प्रतिवादीको लिष्ट प्रहरीलाई पठाएको थियो ।

Share your love