‘सिरियल किलर’ चार्ल्स शोभराज थुनामुक्त, कहिल्यै नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी

‘सिरियल किलर’ का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराले शाेभराजलाई जेलमुक्त गरी अध्यागमन विभाग पठाएको छ । अब शाेभराजलाई विभागबाट फ्रान्स पठाउन लागिएको छ ।

अब कहिल्यै पनि नेपाल आउन नपाउने गरी शाेभराजलाई फ्रान्स पठाउन लागेको विभागले जनाएको छ । शोभराजले भने १० दिन गङ्गालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । गएको बुधवार सर्वोच्च अदालतले उमेरका कारण शाेभराजको बाँकी कैद सजाय मिनाहा गरेर रिहा गर्न आदेश दिएको थियो ।

२०३२ साल पुस ६ गते अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र लरेन्टको हत्या आरोप लागेपछि भाग्दै आएका शाेभराजलाई २०६० साल असोज २ गते काठमाण्डाैकाे एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेसँगै हत्या र फर्जी राहदानीको अभियोगमा जिल्ला अदालत काठमाण्डाैले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । चार वर्षअघि नै ७४ वर्ष पुगेका शोभराजले कारागार नियमावलीअनुसार आफू छुट्नुपर्ने दाबी गर्दै पटक–पटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए ।

तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश हुने गरेको थियो ।

 

Share your love