सिरहामा ५ वर्षीय छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

जनकपुरधाम- सिरहामा ५ वर्षीय छोराको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका १ बस्ने ३४ वर्षीया सरिताकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मंगलबार सरिताकी छोरा ५ वर्षीय आयुश साह बिहानदेखि नै देखा नपरेको भनी स्थानीय मानिसहरूले दिउँसो करिब साढे ५ बजेको समयमा प्रहरी चौकी लहानमा जानकारी गराउँदा इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट तथा प्रहरी चौकी लहानबाट खटेको प्रहरी टोलीले आयुशलाई मृत अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रहरी टोलीले वारदात सम्बन्धमा बुझ्दै खोजतलास तथा अनुसन्धान गर्दै जाँदा सरिता सुत्ने कोठामा रहेको बक्स पलङ्गको घर्राभित्र मृत अवस्थामा आयुशलाई पोको पारी लुकाई छिपाई राखेको अवस्थमा फेला पारेको प्रवक्ता सापकोटाले बताए ।

घटनामा संलग्न आरोपमा मृतक आयुशको आमा सरितालाई  सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । -देश सञ्चार

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *