सिरहामा १८ लाख बराबरको सर्जिकल सामानसहित तीन जना पक्राउ

सिरहा प्रहरीले भन्सार छली गरेर ल्याएको करिब १८ लाखको सर्जिकल सामानसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाकै लहान नगरपालिका १९ बस्ने १९ वर्षीय निरस सदाय, १९ वर्षीय राजेश कुमार सदाय र वडा नं. २४ का १९ वर्षीय अशोक सदाय रहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ।

बुधबार मध्यान्ह लहान ४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली गरी सामानहरु ल्याई रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले प्र २-०१-००२ प ८६०२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कूटरमा लोड गरी ल्याएको २ बोरामा अन्दाजी १७ लाख ९० हजार बराबरको सर्जिकल सामान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

प्रहरीले बरामद गरेको सर्जिकल सामानसहित तीनै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय ठाडी सिरहामा बुझाएको प्रवक्ता पाण्डेले बताए। -देश सञ्चार

Share your love