सिरहाबाट अपहरित युवकको हत्यामा साथीहरुकै संलग्नता, मागिएको थियो एक लाख फिरौती

सिरहाबाट अपहरित युवाको हत्यामा आफ्नै साथीहरुको संलग्नता भेटिएको छ । सिरहाबाट अपहरण गरेर बिराटनगरमा भएको १९ वर्षका अंशु सदाको हत्यामा प्रहरीले उनकै तीनजना साथीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाका मनोज कार्की, राकेश यादव र विंसु मण्डल छन् । उनीहरुका थप एकजना साथी फरार छन् । सबै मृतकसँग चिनजान भएकै व्यक्तिहरु हुन् । प्रहरीका अनुसार उनीहरुले सदालाई २३ असोजमा मोरङ ल्याएको देखिएको छ ।

‘घटना भएको न्यू अप्सरा गेष्ट हाउसमा उनीहरु २४ गतेदेखि बसेको देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भने, ‘हत्यापछि पनि उनीहरुले परिवारसँग फिरौती मागिरहेको देखिएको छ ।’

स्रोतका अनुसार उनीहरुले परिवारसँग एक लाख रुपैयाँ फिरौती मागेका थिए । तर परिवारको आर्थिक हैसियत त्यति रकम दिन सक्ने थिएन । बिहीबार इलाका प्रहरी कार्यालय, गोलबजार पुगेर सदाकी आमा ललिताले खोजतलासका लागि निवेदन दिएकी थिइन् ।

सिरहा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिम्सिनाका अनुसार निवेदन परेपछि प्राविधिक पक्षको विश्लेषण गरेर अनुसन्धान थालिएको थियो । ‘त्यसक्रममा लोकेसन मोरङमा देखिएपछि समन्वय गरेर अनुसन्धान गरेका थियौं’, तिम्सिनाले अनलाइनखबरसँग भने, ‘आज (शुक्रबार) बिहान एक होटलमा शव भेटिएको छ ।’

मोरङ प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले फिरौती माग गरिरहेको थाहा पाएपछि परिवारबाट १० हजार रुपैयाँ हाल्न लगाइएको थियो । त्यही रकम लिन जाँदा तीन जना पक्राउ परेका थिए । त्यसपछि उनीहरुकै बयानका आधारमा प्रहरी शव भएको स्थानसम्म पुगेको स्रोतको भनाइ छ ।

हालसम्म प्राप्त तथ्य अनुसार फिरौतीकै कारण हत्या भएको हुनसक्ने देखिएपनि अन्य लेनदेन विवाद पनि हुनसक्ने आशंका गरिएको छ । ‘अहिले प्रारम्भिक जाँच मात्र भइरहेको छ, विस्तृत बयान लिएपछि थप कारणहरु खुल्न सक्छन्’, कोइरालाले भने । प्रहरीका अनुसार मृतक र उनका साथीहरु लागूऔषध दुर्व्यसनी थिए ।

Share your love