सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बाराकाे सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादव उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर भएकाे छ ।

सिम्रौनगढ नगरपालिकाले अनावश्यक रुपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सिम्रौनगढ नगरपालिकाको आ.व. २०७६।०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडान/विस्तार गर्ने कार्यको लागि सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियत पूर्वक हानिनोक्सानी गरेको एवं गराएको देखिंदा निजहरु उपर आराेप पत्र दायर गरिकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ ।

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत चौधरी र जिन्सी शाखा प्रमुख यादवले टिप्पणी पेश तथा सप्टवेयर खरिद कार्यको स्वीकृत गरी रु. एक लाख ९९ हजार ८९७ भुक्तानी गरी सफ्टवेयर खरिद गरेको र सो सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको एवं गराएको देखिंदा तीनै जना विरुद्ध बुधबार आराेप पत्र दायर गरिएकाे आयाेगका प्रवक्ता भाेला दाहालले जानकारी दिए ।

तीनै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा बिगो रु एक लाख ९९ हजार ८९७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता दहालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

Share your love