सिट बाँडफाँट गर्दा प्रभाव र पकडलाई ध्यान दिन देउवालाई कांग्रेस नेताहरुको सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिनुभएको छ । कार्यदलमा नेताहरूले छलफल गरेर टुंगोमा पुग्ने क्रममा प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गर्नुभएको हो ।
बैठकमा चुनावी तालमेलका आधारहरू के हुने, सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए । सो क्रममा नेताहरूले सिट बाँडफाँट गर्दा ०७४ को निर्वाचन र ०७९ को स्थानीय चुनावको परिणाम र पार्टीको संगठनलाई आधार बनाउनुपर्ने सुझाएका छन् ।

०७४ को हकमा भने समानुपातिक तर्फको परिणामलाई मात्रै आधार मान्न सकिने नेताहरूको भनाइ छ । छलफलका क्रममा मधेसको अफ्ठ्यारा विषयमा समेत कुराकानी भएको छ ।

नेताहरूले मधेस कांग्रेसको उर्वर भूमि रहेको भन्दै मधेसमा सिट बाँडफाँट गर्दा ध्यान पुर्‍याउनु पर्ने सुझाव दिएका छन् ।गठबन्धनमा पाँच दलबीच आगामी मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटमा कुरा मिलेको छैन ।

Share your love