डाबरको रियल जुस जमेको भेटियो

काठमाडौं – डाबर नेपालले उत्पादन गरेको रियल म्याङगो जुसमा लेदो भेटिएको छ । काठमाडौंको बसुन्धारास्थित कुमार कार्कीको पसलबाट खरीद गरेको जुसमा लेदो भेटिएको हो । उपभोक्ता बिनोद थापाले जुस किनेर घरमा लैजादा बोटल भित्रको जुस जमेको भेट्टाएका थिए ।

ईमेज च्यानलको सम्पर्कमा आएका ती उपभोक्ताले खरिद गरेर लगेको जुसमा लेदो भेटिएपछि कम्पनीको सम्वन्धित व्यक्तिलाई खबर गरेका थिए । तर कम्पनीले त्यसमा बेवास्ता गरेको उनको भनाई छ ।

आफ्नो पसलबाट बिक्री गरेको रियल जुसमा लेदो देखिएको र तत्काल डाबर कम्पनीलाई खबर गरेको ब्यवसायी कुमार कार्की बताउँछन् । डाबरको काठमाडौं उपत्यका वितरण हेर्ने प्रमुख विनोद सुवेदीले यसमा डाबरको गल्ती भएको स्वीकार गरेका छन् । आफूहरु गुणस्तरमा प्रतिवद्ध रहेको दावी गर्दै उनले ढुवानी र सिलबन्दी गर्दा बोतलमा हावा छिर्ने, कुच्चिने जस्ता कारणले यस्तो भएको हुनसक्ने बताए ।

बहुराष्ट्रिय कम्पनी डाबरले रियल जुस जस्ता पेय पदार्थ उत्पादन गर्दै आएको छ । रियल जुसमा देखिएको लेदोलाई लिएर उपभोक्ता मन्चले आपत्ति जनाएको छ । मन्चका अध्यक्ष प्रेमलाल महर्जनले जनस्वास्थ्यमा लापरवाही गर्नेलाई सरकारले कडा कारवाही गर्नुपर्ने बताए ।

Share your love