साउदी अरबको जेद्दाहमा अरब लिगको शिखर सम्मेलन सुरु

साउदी अरबको जेद्दाह शहरमा अरब लिगको ३२ औँ शिखर सम्मेलन शुक्रबारदेखि शुरु भएको छ। सम्मेलन यस क्षेत्रको स्थायित्वका लागि महत्वपूर्ण क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्न अरब नेताहरूको सहभागितामा सुरु भएको हो।

सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएपछि अरब लिगबाट निलम्बित सिरियाका राष्ट्रपति बसर अल असद पहिलो पटक शिखर सम्मेलनमा सहभागी भएका छन्। अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्देर रहमानेको उद्घाटन सम्बोधनसँगै शुरू भएको सम्मेलनले अरब क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वका लागि आफ्ना एजेण्डा तय गरेको छ।

साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदलाई अरब लिगको आलोपालो अध्यक्षको जिम्मेवारी पनि सुम्पिनुभएको अल अरबिया टिभीले जनाएको छ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै बेनाब्देर रहमानेले सुडानमा हालैको सङ्कटबारे सबै पक्षलाई संकट अन्त्य गर्न र देशमा थप तनाव हुन नदिन वार्ताको सहारा लिन आह्वान गरेका छन्। उनले प्यालेस्टाइन–इजरायल द्वन्द्वलाई पनि जोड दिँदै अन्तर्राष्ट्रिय समुदायलाई इजरायलको बस्ती विस्तार रोक्न आग्रह गरे।

अरब लिगको अध्यक्षता ग्रहण गरेपछि साउदी राजकुमारले अरब लिगमा सिरियाको पुनरागमनको स्वागत गर्दै शिखर सम्मेलन सुरु भएको घोषणा गरेका थिए।

उनले सिरियालाई अरब लिगमा फिर्ता गरेसँगै देशमा सङ्कट अन्त्यका लागि मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे। उनले सुडानका द्वन्द्वरत पक्षहरूबीच गत हप्ता भएको सहमतिको स्वागत गर्दै सङ्कट अन्त्यका लागि वार्ताको आवश्यकता दोहोर्‍याएका थिए।

प्यालेस्टाइनको मुद्दा अरबको ‘निर्णायक कारण’ रहेको उल्लेख गर्दै युवराजले साउदी अरबले यस क्षेत्रलाई द्वन्द्वको क्षेत्रमा रूपान्तरण गर्न नदिने बताए। रासस/एएफपी

Share your love