सर्लाही : कर्मचारीकाे मिलेमताेमा राष्ट्रिय वनजङ्गल अतिक्रमण गरी माटाे बिक्री

सर्लाहीको जानकीनगरमा रहेको सब डिभिजन वन कार्यालयका कर्मचारीको मिलेमतोमा राष्ट्रिय वनजङ्गल अतिक्रमण गरी माटो बिक्री गरेकाे खुलेकाे छ । सब डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत विनयकुमार साहको मिलेमतोमा राष्ट्रिय जङ्गलमा पर्ने झन्डै पौने दुई बिघा क्षेत्रफलको जग्गाबाट माछापोखरी उत्खनन गरी माटो बिक्री गरेको खुलेको हाे ।

बरहथवा घर भएका मननाथ निरौलाको १३ कट्ठा १७ धुर नम्बरी जग्गा देखाएर पौने दुई बिघा जग्गामा माछापोखरी निर्माण गरेबापत सहायक वन अधिकृत साहले जग्गाधनी निरौला र माटो खरिद गर्ने ठेकेदारसँग मिलेर कमिसन लिएको स्थानीयवासीकाे आराेप छ ।

राष्ट्रिय जङ्गलको जग्गा र व्यक्तिगत जग्गा कुन हो भनेर आफूले यकिन गर्न नसकेकाले त्यस ठाउँमा माछापोखरी खनिएक‍ो सब डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख साहको भनाइ छ । राष्ट्रिय जङ्गल र नम्बरी जग्गा छुट्टाउन केही दिनमा नै अमिन बोलाएर जग्गा नापी गर्ने उहाँले जानकारी दिनुभयो ।

पोखरी खनिएको जग्गा राष्ट्रिय जङ्गलको नभई आफ्नो निजी जग्गा भएकाले माछापोखरी निर्माण गरेको निरौलाले दाबी गर्नुभएको छ । आफ्नो धेरै वर्ष पहिलेदेखि नै नम्बरी र केही ऐलानी जग्गा रहेकाले भोगचलनअनुसार नै पोखरी खनेको उहाँकाे भनाइ छ ।

निरौलाको नाममा दर्ता कायम रहेको जङ्गल छेउको १३ कट्ठा १७ धुरबाहेक झन्डै डेढ बिघाभन्दा धेरै जङ्गलकाे जग्गा अतिक्रमण गरी माछापोखरी खनिएको छ । राष्ट्रिय जङ्गल अतिक्रमण गरी  माछापोखरी निर्माण गरेको र त्यहाँको माटो उत्खनन गरेर अन्यत्र बिक्री गरेको भन्ने खबर आफूलाई आइतवारमात्र आएको हरिपुर नगरपालिका १ का वडाध्यक्ष नानीबाबू थापाले बताउनुभयो ।

उहाँले भन्नुभयाे, पौने दुई बिघाभन्दा बढी क्षेत्रमा पोखरी निर्माण भएको देखियो, पाेखरी खन्दा वन कार्यालय र वडा कार्यालयलाई जानकारी दिनुपर्ने हो, वडाको सिफारिस पनि लिएका छैनन्, वन कार्यालयले पनि अनुमति दिएको थाहा छैन । हामीले बुझ्दा निरौलाको जग्गा १३ कट्ठा १७ धुरमात्रै देखियो तर पोखरी भने पौने दुई बिघाको छ, यो विषयमा छलफल हुँदैछ ।

राष्ट्रिय जङ्गलको छेउमा नम्बरी जग्गा देखाएर केही व्यक्तिले जङ्गल अतिक्रमण गरी पोखरी निर्माण गरेको र त्यस ठाउँकाे माटो बिक्री भएको भन्ने खबर आएकाले स्थलगत निरीक्षण गरी दोषी पाइए कारबाही गरिने डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले बताउनुभयो । जङ्गल अतिक्रमण गरी पोखरी निर्माण गरेकाे भन्ने स्थानीयको गुनासो आएपछि सम्बन्धित जग्गाधनीलाई  जग्गाधनी पुर्जासहित कार्यालयमा उपस्थित हुन पत्राचार गरिसकिएको उहाँले बताउनुभयो । उहाँले वन क्षेत्रको एक इन्च जमिन पनि अतिक्रमण गर्न कसैलाई छुट नभएको भन्दै कानुन विपरीत काम गर्ने कसैलाई नछाड्ने चेतावनी दिनुभयो ।

 

Share your love