मिटरब्याज पीडितका माग पूरा नगरे सडक संघर्ष गर्ने अध्यक्ष लिङ्देनकाे चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिनु भएको छ ।

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि सोमबार निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्ना समेत गर्नुभयो । गरीब र निमुखा ति मानिसहरुमाथि किन आक्रमण गर्नु परेको भनेर सरकारलाई अध्यक्ष लिङ्देनले प्रश्न समेत गर्नुभयो ।

उहाँले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिंडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरुमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।

पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै अध्यक्ष लिङदनले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

Share your love