सम्झौता त्रुटिपूर्ण भएको क्यान अध्यक्षद्वारा स्वीकार

साधारण सभाबाट पारित भइ आयोजना भएको नेपाली टी–२० लिगको सम्झौता त्रुटिपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभएको छ ।

बिहीवार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको बताउनुभएको हो ।

चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गर्नुभयो ।

तर क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको स्पष्टोक्तिसमेत उहाँले दिनुभयो । अध्यक्ष चन्दले क्यानले पहिलो प्रयास गर्ने क्रममा केही कमी कमजोरी भएको र साझेदार/पार्टनरसँग सम्झौता अनुरुप काम नहुनु दुखद् भएको बताउनु भयो ।

सम्झौताअनुसार काम अघि बढाउन सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसक्नु क्यानको कमजोरी भएको पनि उहाँले स्वीकार गर्नुभयो ।

सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसकेकै कारण श्रम स्वीकृति ढिला भएको र लिगको दौरान विभिन्न कारणले विवाद हुनु क्रिकेट संघको पनि कामजोरी रहेको बताउनु भयो ।

अध्यक्ष चन्दले नेपाल टी–२० लिगमा सहभागी पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले एक/दुई महिना भित्र नै पाउने जानकारी दिनुभयो ।

उहाँले खेलाडीको सबै रकम चुक्ता गरिसकेको र केही खेलाडीको भुक्तानी छिटै पूरा हुने पनि बताउनु भयो । यस्तै पुरस्कारको रकम सेभेन थ्री स्पोर्टसले दिने सम्झौता भएको र नदिएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरबाट लिन पहल गर्ने समेत बताउनु भयो ।

प्रतियोगिताको दौरानमा अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार रहेको बताउनु भयो ।

उहाँले टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएकोमा पुष्टि भए क्यानले नै कारबाही गर्ने बताउनु भयो ।

नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर मेहबुब आलम स्पट फिक्सिङको आरोपमा पक्राउ परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुसहित १० जनाविरुद्ध मुद्दा अगाडि बढाएको छ ।

यसैगरी चन्दले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानुनले जे अनुमति दिन्छ त्यही अनुसार अघि बढ्ने बताउनु भयो । उहाँले आईसीसीसँग सन्दीपको बारेमा छलफल भएको र नेपालको विद्यमान कानुन अनुसार अगाडि बढ्न सुझाव दिएको बताउनु भयो ।

Share your love