गृहमन्त्री लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो ।

अस्ति बुधवारको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो । यो मुद्दामा प्रमाणका आधारमा दुवैतर्फका वकिलको बहस सकिएपछि आजै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गरी सांसद बनेको भन्दै सांसद पद खारेजीको माग गर्दै लामिछाने विरुद्ध रिट दायर गरेका थिए ।

लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गएको मंसिर २८ गते रिट परेको थियो । तर पुस ६ गतेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ ।

 

Share your love