सम्झनामा सत्यमोहन जोशी

संसारमा आइसकेपछि एकदिन जानैपर्छ । यो शाश्वत सत्य हो । यसलाई कसैले रोक्न सक्दैन । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि प्रकृतिको यही नियम लाग्यो । जाँदा सबै रित्तै जाने हो । खाली हात नै जाने हो ।

शताब्दी पुरुष जोशी पनि रित्तो हात नै जानु भएको हो । तर, फरक के हो भने उहाँका हात देश र समाजलाई केही  न केही दिँदादिँदै रित्ता भए । उहाँ रित्तिएर जानुभयो । तर, जति रित्तिए पनि उहाँ भरिएको प्रमाण हो उहाँप्रति उर्लिएको श्रद्धाको भिड । यसरी दिँदादिँदै जाने बेला भने उहाँ भरिएर जानुभयो ।

विक्रम संवत् १९७७ सालमा पाटनको बखुम्बहालमा शंकरराज जोशी र राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका जोशीले नेपाली भाषा, कला, संस्कृति, सम्पदाको संरक्षण, संवर्द्धन, विकास तथा विस्तारका लागि आफ्नो सिङ्गो जीवन खर्चनुभयो विक्रम संवत् २०१३ सालमा ‘हाम्रो लोक संस्कृति’ पुस्तकका लागि पहिलो पटक, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि २०१७ सालमा दोस्रो पटक र २०२८ सालमा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उहाँलाई संयुक्त रुपमा मदन पुरस्कार प्रदान गरिएको थियो । यसरी तीन पटक मदन पुरस्कार पाउने पनि उहाँ पहिलो व्यक्ति हुनुहुन्छ ।

२०१५ सालमा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक जोशीका संस्कृतिसम्बन्धी दश वटा पुस्तक प्रकाशित भएका छन् भने दुई वटा कविता सङ्ग्रह, पाँच वटा कथा सङ्ग्रह, दश वटा नाटक र नेपाल भाषाका केही कृतिहरु छन् । समालोचकहरुले उहाँको ५० वटा पुस्तक प्रकाशन भएको जनाएका छन् ।

नेपालको कला संस्कृतिको संरक्षणमा लागेबापत उहाँलाई सुप्रबल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीप पुरस्कार, पद्यश्री साधना सम्मान प्राप्त भएको छ भने काठमाण्डौ विश्वविद्यालयले मानार्थ विद्यावारिधि पनि प्रदान गरेको छ ।

जोशीको सम्मानमा राष्ट्र बैंकले उहाँको तस्बिर अङ्कित चाँदीको सिक्कासमेत निष्कासन गरेको छ । दुई हजार ५ सयको २५ हजार, एक हजारको २५ हजार तथा एक सयको दश हजार थान सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको चित्र रहेको छ ।

२०७६ साल वैशाख ३० गते सय वर्ष पुग्नु भएका वाङ्मय शताब्दी पुरुषको सम्मानमा ललितपुर महानगरपालिकाले बिदा दिएको थियो भने एक वर्षभरि जन्मशताब्दी महोत्सव मनाएको थियो ।

करिब पाँच वर्ष गोरखापत्रको पत्रकारका रुपमा पनि जोशीले काम गर्नुभएको थियो । अरनिकोका विषयम नेपालमा कुरा हुने गरे पनि पूर्ण जानकारी नहुँदा उहाँले चीन पुगेर अरनिकोले बनाएका सम्पूर्ण सम्पदाको अध्ययन गरेर ‘कलाकार अरनिको’ भन्ने किताब नै प्रकाशित गर्नुभएको थियो।

नेपालमा गाईजात्राका अवसरमा हुने हास्यव्यङ्ग्यलाई व्यवस्थित रुपमा प्रारम्भ गर्ने काम पनि जोशीले गर्नुभएको हो । २०३५ सालदेखि हास्य कलाकारहरुलाई बटुलेर उहाँले प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमको प्रारम्भ गर्नुभएको थियो ।

शताब्दी पुरुषको शतायु पनि धेरैको चासो विषय हुने गरेको छ । प्रायः डाक्टर र स्वास्थ्य विज्ञहरुले भन्ने गरेका दीर्घायुका सुझाव पनि उहाँको सन्दर्भमा पनि विपरीत हुने गरेको देखियो । बुढो भएपछि माछा, मासु र रक्सी खानुहुन्न भन्ने जस्ता विज्ञको सुझाव भन्दा फरक उहाँको प्रिय खाना नै माछा, मासु थियो । बेलुका सुत्ने बेलामा एक प्याला रक्सी उहाँको मित्र हो । यति भए पनि शतायु काट्दा पनि उहाँका दाँत टोक्न, चपाउन मिल्ने गरिका बलिया थिए । आँखामा चश्मा हुँदैन थियो । कानमा सुन्ने मेसिन थिएन । अनि बुढेसकालको सहारा मानिने लौरो उहाँको साथी थिएन ।

वाङ्मय शदाब्दी पुरुष जोशीप्रति हाम्रो पनि श्रद्धासुमन ।

 

Share your love