सबै सुरक्षा निकायमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने गृहमन्त्रीको घोषणा

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर संचालन गर्ने घोषणा गर्नुभएको छ ।

योग र ध्यानले सही ढंगले काम अघि बढाउन मद्दत गर्ने भन्दै उहाँले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा त्यसलाई संचालनमा ल्याउने र नियमित गर्नका लागि पहल गर्ने बताउनुभएको हो ।

श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले ध्यान र योगले फाईदा गर्ने भएकाले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललगातका नेताहरुलाई पनि केही समय यसलाई दिन भन्ने गरेको बताउनुभयो ।

आफूमा योग र ध्यानको आशक्ति रहेको र दुई पटक त्यसका लागि आफू २० दिन ध्यानमा बसेको उहाँले स्मरण गराउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले यस अघि आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा त्यहाँ पनि योग तथा ध्यान शिविर संचालन गर्न खोजेको तर समय अभावका कारण त्यसलाई लागू गर्न असमर्थ भएको समेत बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकालाई सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर उठाउदिन भन्न नमिल्ने बताउनुभयो । कुनै एउटा सन्दर्भलाई लिएर काठमाडौं महानगरपालिका मेयर बालेन साहले भनेको प्रसंगलाई उधृत गर्दै उहाँले त्यसो भन्न मिल्छ कि मिल्दैन ? भनेर सोची दिन पनि आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले फोहोरी राजनीतिलाई सफा गरेर देशलाई बनाउनुपर्ने दोहोर्‍याउनुभयो । उहाँले आफू सन्यासी भएको पनि त्यस अवसरमा उल्लेख गर्नु भएको थियो ।

Share your love