गाउँपालिका अध्यक्षको घरलाई लक्षित गरी बम

बुटवल — रूपन्देहीको सियारी गाउँपालिकाका अध्यक्षको घरलाई लक्षित गरी अज्ञात व्यक्तिहरूले बम राखेका छन् । सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको हो ।

घिमिरेको घर पछाडि कम्पाउण्ड बाहिरको गेटमा कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

सिमेन्टको बोराभित्र शंकास्पद वस्तु देखेपछि अध्यक्ष घिमिरेले बिहान साढे ९ बजे प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित नेपाली सेनाको टोलीले उक्त बम मध्याह्न साढे १२ बजे डिस्पोज गरेको प्रवक्ता अर्यालले बताए ।
उनका अनुसार तारजडित प्रेसर कुकरमा ‘खतरा’ लेखेर टाँसिएको पनि थियो। जसमा मधेश पिपुल्स पार्टी नाम लेखेको पर्चासमेत भेटिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Share your love