सप्तरीमा बोट झाङ्गिने गरी आँपकाे फूल फुलेपछि किसान उत्साही

सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् । एकाध आँप भएका बारी होस् वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखहरूमा फूलहरू फुलेका छन् ।

सप्तरीमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपको बोट लगाइएको छ । यसैगरी, व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा समेत आँपका फूलहरू फुलेर झकिझकाउ भएका छन् । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले यस वर्ष आँपको माैसम राम्रो भएको बताउनुभयो । सप्तरी लगायतका जिल्लामा चैत, वैशाख तथा जेठ महिनामा आउने हावाहुरीले आँप झारेर क्षति पुर्‍याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ ।

सप्तरीमा सबैभन्दा बढी मालदह आँप लगाइएको छ । यसैगरी, किसुनभोग, बम्बै, अम्रपाली, दार्जलिङ्ग, केलवा, कलकतियालगायतका अन्य जातको आँपको रुख पनि लगाइएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार सबै जातका आँपको रूपमा फूलहरू फुलेका छन् ।

सप्तरी जिल्लाभर करिब पाँच हजार २८७ हेक्टर जमिनमा आँप लगाइएको कार्यालय प्रमुख यादवले बताउनुभयो । जिल्लामा अधिकांशका बगैंचामा आँप लगाएको पाइन्छ । सप्तरीको शम्भुनाथ, सीतापुर, फत्तेपुर, लोहजारा, महुली, मोहनपुर, रुपनी, बेल्हा , रुपनगर, कञ्चनपुर, कदमहा, कल्याणपुर, जोगमोहनलगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।

Share your love